Wednesday, October 3, 2018

दशैँ नजिकिएसँगै सातै प्रदेशमा यात्रु सहायता कक्ष

काठमाडौँ, १७ असोज । ट्राफिक प्रहरीले चाडबाडको समयमा सुरक्षित रुपमा गन्तव्यस्थलसम्म पुग्ने वातावरण बनाउन सातै प्रदेशमा यात्रु सहायता कक्ष स्थापना गर्न लागेको छ ।

नेपालीको महान् पर्व दशैँ नजिकिएसँगै ट्राफिक प्रहरीले सातै प्रदेशका सवारीसाधन धेरै आवतजावत गर्ने विभिन्न जिल्लाका स्थानमा यात्रु त्यस्तो सहायता कक्ष राख्न लागेको हो । प्रहरी प्रधान कार्यालय ट्राफिक निर्देशनालयका प्रहरी उपरीक्षक जनक भट्टराई चाडबाडमा यात्रुलाई सहज, सुरक्षित र व्यस्थित तवरले गन्तव्यसम्म पु-याउन विशेष अभियान सञ्चालन गर्न लागेको बताउनुहुन्छ ।

“लामो दूरीका सवारीसाधनमा दुईवटा चालक भए नभएको, ‘रिफ्रेस’ सेन्टरमा सवारीसाधन लगे नलगेको, चालकबाट सवारीसाधन चलाए नचलाएलगायतका जाँच गर्छौं”, उहाँ भन्नुहुन्छ । त्यस्तै मादकपदार्थ सेवनबाट दुर्घटना धेरै हुने गरेको भन्दै ट्राफिक प्रहरीले देशभर दिउँसोको समयमासमेत मादक पदार्थ सेवन गरेको नगरेकोबारे परीक्षण गर्न लागेको छ । निर्देशनालयले देशभरका १४ सडकखण्डमा टाइम कार्डसमेत लागू गरिसकेको छ । टाइम कार्ड लागू हुँदा निश्चित समयमा गन्तव्यस्थलसम्म पुग्नुपर्ने भएकोले दुर्घटना न्यूनीकरण हुनेछ ।

नागढुङ्गा–चितवन, बल्खु–हेटौँडा, काठमाडौँ–सिन्धुलीलगायतका क्षेत्रमा आउँदै गरेका पर्वलाई लक्षित गरेर थप जनशक्ति खटाइएको निर्देशनालयले जनाएको छ । लामो दूरीका सवारीसाधनलाई भने अनिवार्यरुपमा रिफ्रेस सेन्टरमा सवारीसाधन लैजानुपर्ने व्यवस्था गरिएको छ ।

काठमाडौँमा भने १३ स्थानमा यात्रु सहायता कक्ष यसअघि नै स्थापना गरेर सेवा प्रदान गरिएको छ । कलङ्की, स्वयम्भू, नयाँ बसपार्क, सातदोबाटो, गौशाला, चाबहिल, बल्खु, दक्षिणकाली, कोटेश्वर, सुन्धारा, बानेश्वर, पुरानो बसपार्क, नागढुङ्गा र जगातीमा यात्रु सहायता कक्ष स्थापना गरिसकिएको छ ।

No comments:

Post a Comment