हालसालै बार्सिलोनामा अनुबन्ध भएका चिलीका मिडफिल्डर अर्टुरो भिडालले खेल्न नपाएको भन्दै असन्तुष्टि पोखेका छन् । पछिल्लोपटक बार्सिलोनाले च्याम्पियन्स लिगमा इंग्लिस क्लब टोटनह्यामलाई ४–२ ले हराएको खेलमा सुरुआती टोलीमा पर्न नसकेपछि उनले असन्तुष्टि पाखेका हुन् ।
उनले उक्त खेलपछि सामाजिक सन्जालमा रिसाएको इमोजी पोस्ट गर्दै असन्तुष्टि नै जाहेर गरेका थिए । त्यसपछि उनले मिडियासँग कुरा गर्दै आफू बार्सिलोनामा निराश रहेको बताएका हुन् ।
उनले आफू खेल्न शारीरिक रूपमा फिट हुँदाहुँदै पनि पर्याप्त खेल्न नपाएकोमा दुःखी भएको बताए । उनले प्रशिक्षक अर्नेस्टो भाल्भर्डेसँग आफ्नो कुनै समस्या नरहे पनि खेल्न नपाउँदा खुसी नभएको बताए ।
‘मेरो प्रशिक्षकसँग कुनै सस्सया छैन, भए म सोझै कुरा गर्ने छु,’ भिडालले भनेका छन्, ‘अवश्य पनि, म खुसी छैन । किनभने, म यहाँ खेल्न आएको हुँ, बेन्चमा बस्न हैन ।’
उनले आफूले सधैं टोलीका लागि राम्रो गर्न प्रयास गर्ने पनि बताए । ‘म त्यस्तो खेलाडी हुँ, जो नखेली बस्न सक्दिनँ । म यहाँ धेरैभन्दा धेरै खेल्न चाहन्छु । र, टोलीलाई सहयोग गर्न चाहन्छु,’ उनले थपे ।
जर्मन क्बल बार्यन म्युनिखबाट बार्सिलोना आएका भिडालले हालसम्म बार्सिलोनाका लागि कुल ९ खेल खेलेका छन् । तर, सबैजसो खेलमा उनी बेन्चबाट मैदान पसेका छन् ।
No comments:
Post a Comment