
साफ च्याम्पियनसिपको सेमिफाइनलमा ‘घाइते’ बनेको नेपाल १५ दिनको अन्तरालमा अर्को मिसनका लागि बंगलादेश पुगेको छ । यसपाली दाउमा छ बंगबन्धु गोल्ड कप ।डिफेन्डिङ च्याम्पियन भएको नाताले यो प्रतियोगिता नेपालका लागि प्रतिष्ठाको विषय हुने नै भयो । तर, उपाधि जोगाउन नेपाललाई सजिलो छैन । यो पटक बंगबन्धु गोल्डकपमा सहभागी आयोजक बंगलादेश र नेपालबाहेक अन्य ४ टिम नयाँ हुन् । प्यालेस्टाइन, लाओस, ताजिकिस्तान र फिलिपिन्सले पहिलोपटक यो प्रतियोगिता खेल्दैछन् । सहभागी टिममध्ये फिफाको वरियतामा नेपाल चौंथो स्थानमा छ ।
नेपाल फिफा वरियतामा १६० औं स्थानमा छ भने प्यालेस्टाइन १००, फिलिपिन्स ११४ र ताजिकिस्तान १२० औं स्थानमा छ । नेृपालभन्दा पछि लाओस १७८ औं र बंगलादेश १९३ औं स्थानमा छन् । बंगबन्धु गोल्डकपकै लागि भनेर नेपालले तयारी गरेको धेरै दिन भएको छैन तर, विगत लामो समयदेखि नेपाली टिम अभ्यास र प्रतियोगितामा ब्यस्त नै छ ।
साफ च्याम्पियनसिपमा गरेको गल्ति सुधारेर बगवन्धुको उपाधि रक्षा गर्ने लक्ष्य लिएको प्रशिक्षक बालगोपाल महर्जन बताउँछन् । उनले भने, ‘एट्याकिङ र मिड्फिल्डमा सुधार्दै डिफेन्स लाईनलाई बलियो बनाउँछौं । साफ च्याम्पियनसिपमा हाम्रो डिफेन्स कमजोर थियो । अब त्यस्तो हुने छैन ।’मिडफिल्डर निराजन खड्का नेपालका सबै प्रतिद्वन्द्वी निकै बलियो भएको बताउँछन् । जितका लागि हरेक टिमसँग् आफ्नो उत्कृष्ट खेल प्रस्तुत गर्नुपर्ने उनको विचार छ ।
समूह चरणमा बलियो प्रतिद्वन्द्वी पाएको नेपालले अहिलेसम्म प्यालेस्टाइन र ताजिकिस्तानलाई पराजित गर्न सकेको छैन । सेमिफाइनल प्रवेशका लागि दुई मध्ये एकलाई पन्छाउनुपर्ने हुन्छ । ‘हो, समुहमा हामीभन्दा राम्रा टिम पनि छन् । तर, हामी पनि कमजोर भने छैनौं’ प्रशिक्षक महर्जनले भने ।
कप्तान विराज महर्जन थप्छन्, ‘सबै टिम बलिया छन् । तर, हाम्रो लक्ष्य भनेको उपाधि जित्ने नै हो ।’ नेपालको पहिलो खेल मंगलबार ताजिकिस्तानसँग बंगलादेशको सिलहेट जिल्ला रंगशालामा स्थानीय समयअनुसार बेलुकी ६ः३० बजे सुरु हुनेछ । नेपाल र ताजिकिस्तान पछिल्लो पटक एसियन कप छनोटमा भेट भएका थिए । पहिलो लेगमा ३-० गोलले पराजित भएको नेपाल दोस्रो लेगमा २-१ ले पराजित भएको थियो ।
No comments:
Post a Comment