काठमाडौं । ट्याक्सीमा छुटेको सामान सजिलै फेला पर्ला भनेर तपाईंले सोच्नुभएको छ ? अझ त्यो पैसा भए कति सम्भव होला ? त्यसमा पनि साँढे दुई लाख रुपैयाँ भन्दा बढि ।
अमेरिकी नागरिक प्याट्रिक हिलेले भने हराएको ‘धन’ एक घन्टामै फेला पारेका छन् । हराएको सामान प्याट्रिकलाई महानगरीय ट्राफिक प्रहरी प्रभाग दरबारमार्गबाट फिर्ता गरिएको हो ।
प्याट्रिकको साथबाट हराएको युएस पासपोर्ट, नागरिकता, ट्राभल डकुमेन्ट, फ्लाई टिकट, निकोनको एक थान क्यामेरा, एक थान मोबाइल र २ हजार २ सय १९ अमेरिकी डलर सहितको झोला आज नै निजलाई फिर्ता गरिएको प्रभागका प्रमुख (इन्सपेक्टर) दयाकृष्ण भट्टले जानकारी दिए ।
यसरी पाए हराएको रकमसहित सामान
शनिबार उनी स्वयम्भुबाट बा२ ज ५१४२ नम्बरको ट्याक्सी चढेर सिभल मल पुगे । ट्याक्सीबाट ओर्लिए । त्यत्तिकैमा ट्याक्सी हिँड्यो । हिलेले आफूसँग भएको पैसालगायत अन्य सामानहरु ट्याक्सीमा नै छुटेको बल्ल थाहा पाए ।
त्यसपछि हतासिएका हेलिले महानगरीय ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा खबर गरे । उनले ट्याक्सी नम्बरसमेत याद गरेका थिएनन् । उनको बयानको आधारमा दरबारमार्ग ट्राफिक प्रहरीले ट्याक्सीको खोजीकार्य सुरु गर्यो ।
उनलाई सिभिल मल छाडेर अगाडि बढेको ट्याक्सी चालकले जमल पुगेपछि ट्राफिक प्रहरीलाई बाटोमा देखे । ट्राफिक प्रहरीलाई देखेपछि ट्याक्सी चालक आफैंले ट्याक्सीको पछाडी एउटा झोला छुटेको जानकारी दिए ।
ट्याक्सी चालक थिए काभ्रे धुलिखेल नगरपालिका–८ घर भई हाल काठमाडौं बस्दै आएका सुरेश तामाङ ।
गत अक्टोबर ३ मा प्याट्रिक नेपाल आएका थिए । केही समयको नेपाल बसाईंपछि उनी भोलि नै अमेरिका फर्किंदै थिए ।
प्याट्रिकको भनाइमा निजले स्वयम्भु गुम्बामा रहेका १४ नेपाली बालबालिकाको पठनपाठन लगायतका जिम्मेवारी लिँदै आएका छन् । त्यसैको सिलसिलामा उनी बर्षमा २ पटक नेपाल आउने गरेका छन् ।
छुटेको महत्वपूर्ण सामान फिर्ता पाएपछि प्याट्रिकले ट्याक्सी ड्राइभरको इमानदारीता र ट्राफिक प्रहरीको प्रसंशा गरेको ट्राफिक प्रहरी प्रभाग दरबारमार्गका प्रमुख प्रहरी निरीक्षक भट्टले जानकारी दिए ।-nagariksamachar
No comments:
Post a Comment