Wednesday, October 3, 2018

समिरमानसिंह बस्नेतलाई ‘ईनकाउन्टर’ गर्न खोजिएको परिवारको आरोप



काठमाडौं, १७ असोज । निर्माण व्यवसायी शरदकुमार गौचन हत्याको अभियुक्त समिरमान सिंह बस्नेतलाई मुस्ताङ जेलमा सरुवा गरिएकोप्रति बस्नेतको परिवारले आपत्ति तथा शंका जनाउँदै जीवन रक्षाको माग गरेको छ ।

बुधबार बस्नेतका परिवारले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर यस्तो आपत्ति जनाएको हो । बस्नेतकी श्रीमती माया शेरचन र दाईहरु सुधिरमानसिंह र सुविरमानसिंह बस्नेतले सरकारले जालझेल र षड्यन्त्र गरेर समिरलाई काठमाडौंबाट रातारात मुस्ताङ पुर्याएको भन्दै घोर आपत्ति जनाएका हुन् ।

बस्नेतकी श्रीमती शेरचनले भनिन्,‘मलाई जानकारी नै नगराई रातारात उहाँलाई मुस्ताङ लगियो । त्यो दिन राति ६ बजे मुस्ताङ लगिँदैछ भनेर जानकारी दिईएको थियो । म चाहीँ मोटरसाईकलबाट पोखरा गएँ । पोखरामा श्रीमानलाई भेट्दा कहाँ लगिँदैछ भनेर उहाँलाई पनि थाहा नभएको कुरा मसँग भन्नुभयो ।’

त्यही दिन मुस्ताङको लागि लग्ने कुरा भएपनि माथिको आदेश नभएको भन्दै बेनीमै बस्नेतलाई राखिएको उनले जनाईन् । उनले भनिन्,‘भोलिपल्ट मुस्ताङको लागि उहाँलाई त्यहाँबाट जीपमा हालेर लगिएको थियो ।’



उनले आफूलाई प्रहरी प्रशासनले श्रीमानसँग भेट्नसमेत नदिएको गुनासो पोखिन् । उनले आफ्नो श्रीमानलाई प्रहरी प्रशासनले यसरी काठमाडौं बाहिर लैजानुमा शंका उत्पन्न भएर आज पत्रकार सम्मेलन गर्न आएको जानकारी दिईन् । जोमसोम कारागार सुरक्षित नभएको भन्दै उनले भनिन्,‘उहाँलाई बरु काठमाडौंको गोलघरमै राखिदिएको भए हुन्थ्यो । सुरक्षा संवेदनशीलताको कुरा उठ्यो भनिएको छ, त्यसो हो भने त उहाँलाई कडा सुरक्षा भएको कारागारमा राखिनुपर्दथ्यो ।’

उनले आफ्नो श्रीमानलाई प्रहरीले ईनकाउन्टर गर्ने षड्यन्त्रका साथ जेल सारेको आरोप लगाईन् ।

कार्यक्रममा समिरका दाईहरु सुधिरमानसिंह र सुविरमानसिंहले पनि भाईको जीवन रक्षाको माग गरे । उनीहरुले भने,‘आरोप लागिसकेको छ । भाई जेलमा छ । यदि आरोप पुष्टि भयो भने कानुन अनुसारको सजाय भोग्नुपर्छ ।’ भाईलाई जो मान्छे मारिएको भनेर आरोप लगाईएको छ उसैको गृहजिल्लामा लगेकोप्रति बस्नेतको परिवारको आशंका छ ।

गत मंसिरदेखि नख्खु कारागारमा रहेका सिंहलाई यही असोज १५ गते सोमबार मुस्ताङ लगिएको हो । गत असोज २३ गते काठमाडौंको शान्तिनगरस्थित खरिबोटका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनमाथि गोली हानी हत्या गरेको आरोपमा गत मंसिरमा बस्नेतलाई पक्राउ गरिएको थियो ।

No comments:

Post a Comment