Thursday, September 27, 2018

गोर्खा सैनिकलाई एनआएनको दर्जा अमान्य, दोहोरो नागरिकता पाउनुपर्ने माग



११ असोज, काठमाडौं । भूतपूर्व गोर्खा सैनिकहरुले आफूलाई सरकारले गैरआवासीय नेपाली (एनआरएन) को दर्जामा राख्न खोजेको भन्दै एनआरएनले पाउने नागरिकता आफूहरुलाई मान्य नहुने बताएका छन् । बिदेशमा बसिरहेका गोर्खा सैनिक र तिनका परिवारले दोहोरो नागरिकता पाउनुपर्ने उनीहरुको माग छ ।

बिहीबार राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बि्रटिस गोर्खा भूतपूर्व सैनिक संघ (बिगेसो) का सभापति पदमसुन्दर लिम्बुले भने- ‘हामीले दोहोरो नागरिकताको कुरा उठाएका छौं, यसमा गोर्खा सैनिकहरुलाई सुविधा दिइनुपर्छ ।’एनआरएनले पाउनेजस्तो राजनीतिक अधिकारविनाको आर्थिक र सांस्कृतिक अधिकारमात्रै उल्लेख गरिएको गैरआवासीय नागरिकता आफूहरुलाई मान्य नहुने लिम्बुले बताए । नेपाली नागरिकहरुलाई बाध्यतावस गोर्खा सैनिक भर्ती गरिएकाले उनीहरु बेलायतमै बसे पनि दोहोरो नागरिकता दिइनुपर्ने लिम्बुले बताए ।

बिगेसोका सभापतिकै भनाइलाई समर्थन गर्दै नेपाल आदिवासी जनजाति महासंघ (एकीकृत) का नेता नगेन्द्र राईले भने- ‘गोर्खा सैनिकहरुको नागरिकतालाई निरन्तरता दिनुपर्छ, एनआरएनलाई जस्तो व्यवहार गर्न पाइन्न ।’

त्यसैगरी परराष्ट्र मामिलाका जानकारी हिरण्यलाल श्रेष्ठले पनि बेलायतमा उतैको नागरिकता लिएर बस्दै आएका गोर्खा सैनिकका परिवारलाई एनआरएनकै दर्जामा राख्न खोजिएको प्रति आपत्ति जनाए । श्रेष्ठले भने- ‘सरकारले संविधानको नागरिकतासम्बन्धी व्यवस्थामा नयाँ नागरिकता ऐन बनाइरहेको छ, नागरिकताको हकमा गोर्खा सैनिकहरुका लागि एनआरएनको भन्दा फरक हुनैपर्छ ।’

श्रेष्ठले अगाडि भने- ‘एनआरएनहरु भनेको नेपालको उद्योग वाणिज्य महासंघको बाह्य च्याप्टरजस्तै हो । तर, गोर्खा सैनिकहरु भनेका शुभलाभवाला होइनन्, बाध्यताबस बेलायती सेनामा भर्ती गराइएका हुन् ।’

अन्तर्क्रिया कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी बनेका नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले भने दोहोरो नागरिकताको नीति लिँदा गम्भीर भएर सोच्नुपर्ने तर्क गरे ।

‘नागरिकताको प्रश्न बडो जटिल छ, नेपालमा सीमा अतिक्रमण र जनसांख्यिक अतिक्रमणको समस्या छ, नागरिकता दिँदै गयो भने के हुने हो भन्ने समस्या छ’ माओवादी नेता वैद्यले भने, ‘तराई मधेसका वास्तविक नेपालीहरुले नै नागरिकता नपाइरहेको जटिलता पनि छ । त्यसैले नागरिकताको यो जटिलतालाई हामीले गम्भीरतापूर्वक लिनुपर्छ ।’

देशमा यतिबेला राष्ट्रियताको समस्या गम्भीर रहेको बताउँदै माओवादी नेता वैद्यले अगाडि भने- ‘गोर्खा सैनिकहरुको हकमा एनआरएनको जस्तो हुनुहुँदैन भन्ने त ठीक छ, तर यो समस्याको हल कसरी गर्ने भन्नेबारेमा सोचौं । सानो मुलुकमा दोहोरो नागरिकताले के गर्ला ? त्यसैले बृटिश गोर्खाको नागरिकताको निरन्तरता र राजनीतिक अधिकारबारे छलफल गरौं ।’

No comments:

Post a Comment