Sunday, September 30, 2018

स्वयम्भू बुद्धको पाउमुनी नेपथ्य



१५ असाेज, काठमाडौं । नेपथ्यले शान्ति र सुरक्षाको माग गर्दै प्राचीन बौद्ध सम्पदाको आँगनमा कन्सर्ट सम्पन्न गरेको छ ।

स्वयम्भूमा यसपटक नेपथ्य उभिनुको अर्को कारण थियो, सम्पदा संरक्षण । ब्याण्डले यो कार्यक्रम त्यसैको निम्ति समर्पित गरेको छ । स्थापनाको रजत महोत्सव मनाउँदै गरेको यो समूहले दशैंको छेकसमेत पारेर राजधानीवासीसँग खुशी साट्ने मौकासमेत यो कार्यक्रम बन्न पुग्यो ।नेपथ्यका अघिल्ला कन्सर्टहरु भन्दा यसपाला बेग्लै सुरुवात भएको थियो । ब्याण्डका मुख्य गायक अमृत गुरुङको आवाजबाट नभइ स्वयम्भूमा उपस्थित दर्शकहरुको आवाजबाट कन्सर्ट सुरुभएको थियो ।

मञ्चमा चढेका नेपथ्यका वाद्यवादकहरुले ‘यो जिन्दगानी’ गीतको धुन बजाइदिएका थिए । मञ्च वरपरका विशाल ‘डिसप्ले बोर्ड’हरुमा गीतका शब्द बग्न थालेः

‘जीवन हो घाम छायाँ

सुख दुःख दुवै हुन्छ

जीवन हो बिना माया

छटपटी तडपन हुन्छ’

दर्शकले तिनै लाइनलाई समातेर गाउँदा गाउँदै बीचतिर बल्ल अमृत मञ्चमा देखापरे । त्यतिन्जेल अर्को लाइन सुरु गर्नका निम्ति स्वयम्भूकै स्थानीय तथा नेपथ्यका पुराना सदस्य ध्रुव लामाले ड्रमसेटको प्रभावकारी आवाज छरिसकेका थिए । हजारौंको संख्यामा उपस्थित दर्शकले चर्को आवाजमा स्वागत गरेपछि बाँकीको गीत अमृत र दर्शक मिलेर गाए ।

कार्यक्रम प्रस्तुत गर्दागर्दै अमृतले बारंबार स्वयम्भूमा बितेका नेपथ्यका संघर्षमय दिनहरुको सम्झना गरे । ‘हामीले यहाँ कोठा भाडा लिएर एउटा एल्बमै तयार पारेका थियौं,’ अमृतले बिगत सम्झे, ‘अबेर रातसम्म स्वयम्भूको डाँडामा बसेर अनेक योजनाहरु बुन्थ्यौं ।’

त्योबेला आफूहरुमा परेको प्रभाव र अहिले काठमाडौंका सम्पदाहरुमा बढ्दो अतिक्रमणका बीच यो कार्यक्रमलाई सम्पदा संरक्षणका निम्ति समर्पित गरेको कारण पनि उनले खुलाए ।

No comments:

Post a Comment