Friday, September 28, 2018

राधेश्याम दाइले दिएको त्यो बुट

क्रिकेटको कुरा गरौं कि फुटबलको ? कि एथ्लेटिक्सको कुरा गरौं ? मेरा अरु कामका कुरा पो सुनाउँ कि । कुराहरु यति छन्, सबै सुनाउँदा त वर्षौं बित्ला !

७७ वर्षको भएँ । यो उमेरमा कहिलेकाहीँ पछाडि पर्खेर हेर्दा रमाइलो लाग्दो रहेछ । के-के गरियो के-के । सबै त सम्झनामै पनि छैनन् । यद्यपि, कुनै सन्दर्भ निस्किदा झट्ट याद आइदिन्छन् ।हरेक मानिसको जीवनमा एउटा महाभारत जस्तो कथा हुन्छ । तीन-तीन वटा खेलमा राष्ट्रको प्रतिनिधित्व गरेको एक खेलाडीको कथा त झनै कति रोमाञ्चक होला ?

अरु कुराहरु थाँति राखेर यसपाली फुटबलको कुरा गर्छु । नेपालमा लामो समयपछि लिग फुटबल हुन लागेकोले पनि पुरानो फुटबलमा फर्कदा रमाइलो नै होला ।

०००

म खेलाडी कसरी भएँ ? भन्ने कुरा सुरु गर्दा काठमाडौंको डिल्लीबजारलाई सम्झनुपर्छ ।

म डिल्लीबजारमा नजन्मेको भए सायद यी उपलब्धीहरु पाउने थिइनँ । त्यहाँ नै खेलकुदलाई बुझ्ने मौका पाएँ । नेपाली खेलकुदको उर्बरभूमि हो जस्तो लाग्छ डिल्लीबजार ।

त्यो समय डिल्लीबजार माथिल्लो टोल र तल्लो टोलको रुपमा विभाजित थियो । अहिले विजय मेमोरियल माध्यमिक विद्यालय रहेको भवन कुनै बेला तत्कालिन राणा प्रधानमन्त्री भीमशम्शेरकी भान्जी भीमदिव्येश्वरीको दरबार थियो । म जन्मेको-हुर्केको त्यहीँ हो । मेरी आमालाई भीमदिव्येश्वरीले धर्मपुत्रीका रुपमा पालन-पोषण गरेकाले भएर मेरो बाल्यावस्था त्यो दरबारमा बित्यो ।

मेरो बुबा तल्लो टोलमा बस्ने हुनाले उहाँसँग पढ्नका लागि म जाने गर्थें । तल्लो डिल्लीबजारमा जाँदा बिहान ६ बजे नै भोगटे, टेनिस बल, झुम्रोको बल, पोकोसोको हिर्काउन सुरु भइसकेको हुन्थ्यो । त्यो बेलामा मोटर गाडी धेरै थिएनन् । एक घण्टामा एउटा मोटर आउँथ्यो होला । मोटर आउँदा एकछिन छेउ लागेर बसेपछि घण्टौं सडकमै फुटबल चल्थ्यो ।

फुटपाथ जति केटाकेटीको कब्जामा हुन्थ्यो । मुख्य सडकमा भने ठूला मान्छे खेल्थे । सडक, फुटपाथ सबै भरिएको हुन्थ्यो । सडक भनेपछि पिच रोड सम्झनुभयो होला । त्यस्तो होइन । त्यो बेला त धेरै कच्ची सडक नै हुन्थे । उबडखावड सडकमा जोसिएर खेल्दा खुट्टामा घाउ भएर विजोग नै हुन्थ्यो । यति तन्मयका साथ खेलिन्थ्यो कि कुरै नगर्नुस् ।

बिहान ८, साढे ८ बजे त्यो फुटबल सकिन्थ्यो । किनभने स्कूल त जानै पर्‍यो । स्कूल नजानेको पनि अरु केही न केही काम भइहाल्थ्यो ।

हेर्दा हेर्दै म पनि हरेक बिहान त्यसमा लागिसकेको थिएँ । त्यसरी नै झुम्रो भोगटेबाट खेलेको हाम्रो फुटबल अब भने लात्ती बलमा पुग्दै थियो । त्यो बेला फुटबलको भित्री बाहिरी भन्ने हुन्थ्यो । भित्री फुटेपछि कतिले त्यो बाहिरी फालेका हुन्थे । टुन्टी कस्नेवाला बल हो त्यो ।

त्यही बलको बाहिरी भेट्टाएर एकपटक हामीले चार खाल अड्डाबाहिर फालेका नेपाली कागजका टुक्रा कोचेर त्यसलाई सिलायौं । झुम्रो, पराल पनि त्यसमा कोचेका थियौं । त्यसैलाई हामी लात्तीबल भन्थ्यौं ।

त्यस्तो बललाई कसेर हान्दा खुट्टा कस्तो दुख्ला । भित्र हावा हालेर बनाउनुपर्ने बलमा कागज कोचेर हान्दा त खुट्टा झनन भइहाल्थ्यो ।

०००

सडकमा खेल्दाखेल्दै हामी ठूला दाइहरुले डिल्लीबजारमा खेल्ने दुई तीन-वटा खुला ठाउँमा पनि जान थाल्यौं । एउटा पद्मकन्या क्याम्पसको चौर, अर्को चारखाल अड्डानेरको गुर्जुको चौर र तेस्रो चारखाल अड्डाभित्रको चौर । चौरमा नै गएर खेल्ने भएपछि हामीले त्यो झुम्रो, र कागज कोचेको बल छाडेर साँच्चैको फुटबल किन्ने सोच्यौं ।

हामी पसल खोज्दै इन्द्रचोकमा गयौं र सोध्यौं । एउटा फुटबललाई पाँच रुपैयाँ पर्ने रहेछ । त्यो ठूलो होइन, एक नम्बरको बल थियो । हामीले साथी-साथीबीच पैसा उठाएर त्यो बल किन्यौं ।

बिहान ११ बजे बल किन्न गयौं र बेलुका ४ बजे खेल्न गयौं । त्यो पनि कहाँ भने टुँडिखेलमा । हामी पुग्दा टुँडिखेलमा भिड यति थियो कि हामीले खेल्ने ठाउँ नै पाएनौं ।

टुँडिखेल पनि अहिलेको जस्तो सानो थिएन । रत्नपार्कमा एउटा सानो बाटो थियो । त्यसको छेउमा भक्तपुर जाने ट्रलीहरु रोकिराखेको हुन्थ्यो । त्यहाँदेखि अहिले दशरथ रंगशाला भएकोसम्म एउटै टुँडिखेल थियो । त्यत्रो टुँडिखेलमा खेल्ने मान्छे पूरै भरिएका थिए । अहिलेको दशरथ रंगशाला रहेको ठाउँलाई हामी सानो टुँडिखेल भन्थ्यौं । त्यहाँ कमलको पोखरी पनि थियो ।

त्यत्रो टुँडिखेलमा पनि ठाउँ नपाएपछि हामी कहाँ जाने कहाँ जाने भयौं । भर्खर किनेको फुटबल कहिले हानौं जस्तो भइरहेको थियो । खोज्दै जाँदा अहिले आर्मीको पेट्रोल पम्प भएनेर छेउमा सानो ठाउँ पाइयो । नजिकै काँडाको तारले बेरेको रहेछ । एउटा साथीले पहिलो पटक हान्दा नै बल त तारमा लागेर फुटिहाल्यो ।

हुनसम्म नमिठो लाग्यो । त्यस्तो रहरले बल्लतल्ल किनेर ल्याएको बल फुटेपछि हामी सबै डाँको छोडेर रोयौं । डिल्लिबजार आइपुग्दासम्म पनि हाम्रो रुवाई थामिएको थिएन ।

०००

त्यो बेला काठमाडौंमा बालसखा दल फुटबल प्रतियोगिता हुन्थ्यो । साथै, देवीमाया मेमोरियल सिल्ड, शुभ राज्याभिषेक कपहरु हुन्थे । त्यो हाम्रा लागि फुटबलको एउटा जग नै हो । त्यही खेलेर नै हामीले फुटबलमा आफूलाई निखार्दै गयौं । त्यो बेला हामी बाल महावीरबाट खेलेका थियौं ।

फुटबल प्रतियोगिता सिंहदरबार भित्रको बिलियार्ड घरको मैदानमा हुन्थ्यो । त्यसलाई हामी ब्लेड घर भन्थ्यौं । राणाजीहरु त्यही बिलियार्ड घरको बालकोनिमा बसेर फुटबल हेर्ने गर्थे । उनीहरु आफ्नै टिम बनाएर बाहिरका मान्छेसँग पनि फुटबल खेल्थे ।

राणा प्रधानमन्त्री जुद्धशम्सेरका नाति नरशम्सेर जबराले नेपालमा फुटबल विकासका लागि निकै काम गरे । भारत कोलकताबाट सिकेर उनले नेपालमा फुटबलका लागि काम गरेका थिए । उनकै सक्रियतामा गठित नेपाल फुटबल संघले २००८ सालमा राम जानकी कप आयोजना गर्‍यो । त्यही नै पहिलो आधिकारिक लिग भयो । नेपाल पुलिसले राम जानकी कप लगातार तीन पटक जितेर २०१० सालमा कप नै पच पार्‍यो ।

त्यो बेला फुटबल प्रतियोगिता हेर्न १० पैसाको टिकट लाग्थ्यो । त्यो टिकट काट्ने पैसा नभएर मान्छेहरु नर्कटको र सिस्नुको झाडीमा लडिबुडी गरेर सिंहदरबारको मैदानमा फुटबल हेर्न हाम फाल्दै जान्थे । पर्खालबाट हाम फाल्दा चप्पल कता मान्छे कता हुन्थे ।

हामी भने पैसा जोगाउन कालिकास्थान तलको बाँसघारीबाट हेर्थ्यौं । त्यहाँबाट मैदानको आधा भाग मात्रै देखिन्थ्यो । मैदानको आधा भागमा बल आउँदा करायो, बल अर्कोतर्फ जाँदा त के भयो के भयो थाहा नै हुँदैन थियो ।

बेला-बेला १० पैसाको टिकट किनेर हेर्न जाँदा हुलमुलमा टिकट नै राम्ररी चेक नगरेको देख्यौं । कि त टिकट पूरै लगिदिन्थे कि त हेर्दै नहेरी च्यातिदिन्थे । यसैले हामीले जुक्ति लगायौं । च्यातेर फालिएका टिकटका टुक्रा जम्मा पार्न थाल्यौं । त्यो घरमा ल्याएर नम्बर नमिले पनि दुईवटा भिन्ना भिन्दै टिकट जोड्न थाल्यौं ।

No comments:

Post a Comment