Tuesday, September 25, 2018

मुस्लिम नेतालाई लक्षित हत्याको श्रृंखला कहिलेसम्म ?



नेपालमा मुस्लिम समुदायलाई लक्षित गरी गरिएका हत्या तथा आरोपको श्रृंखला पुनः एकपटक दोहोरिएको छ । सुनसरीमा रैयान पब्लिक स्कुलका सञ्चालक तथा प्रिन्सिपल, समाजसेवी तथा नेता खुर्सिद आलमको बुधबार बिहान ११ बजेर ३ मिनेटमा हत्या गरियो । भारतीय नम्बरका दुईवटा मोटरसाइकलमा आएका बन्दुकधारीले घटना घटाई पुनः भारततिर फरार भए ।

अपराधको परिदृश्य विगतमा मुस्लिम नेता, समाजसेवी अथवा ब्यापारीहरुको हत्याको घटना संग मेल खाने थियो । इस्लामिक संघका तत्कालिन महासचिव फैजानको ९ असोज २०६८ मा राजधानीको घन्टाघरमा यसै गरी गोली हानी हत्या भएको थियो । यसरि उस्तै प्रकारका हत्याको घटनाले पुन एकपटक मुस्लिम समुदायभित्र तरंग पैदा भएको छ ।मुस्लिमसम्वन्धी समाचार विरलै भेटिने मिडियामा खुर्सिद हत्याकाण्डले हेडलाइनमा स्थान जमाएको थियो । ६ किलो मिटर लखेट्दा पनि समातिएनन् हतियारधारी भनेर खुर्सिद हत्या प्रकरणका खबर आइरहदा त्यहाँभित्रका स्टोरीहरु फिल्मका स्टोरी जस्तै सुनिन्थे । ६ किलो मिटरको दुरीमा जहाँ प्रहरीका जवान नै घाइते भैसक्दा पनि बन्दुकधारीहरु सजिलै सीमापार गरिनु अर्थपूर्ण रहेको छ ।

बेलुका सम्ममा हत्याकाण्डमा अर्को ट्वीस्ट थपियो । खुर्सीद हत्याकाण्ड भारतीय प्रतिआतंकवाद सेलको कारवाहीबाट भएको हुन् सक्ने भनेर नेपाल प्रहरीको उच्च अधिकारीले विश्लेषण गरेको छ भनेर समाचारमा प्रष्ट लेखियो । ती उच्च अधिकारीलेजस्तै अनुमान सर्वसाधारणले पनि लगाइसकेका थिए । विगतका दिनमा नेपाली मुस्लिम नेता, समाजसेवी तथा व्यापारीहरु मारिँदा यिनै आरोपका खबरहरुले सबैको मन मष्तिस्कमा जरो गाडेको थियो ।

मुस्लिम समुदायको बाहुल्यता भएको यस बस्तिमा स्थानीयहरुले घटनालाई सामान्य रुपमा लिने कुरा थिएन । त्यसो त खुर्सिद समाजमा वेग्लै पहिचान भएका व्यक्ति थिए । शिक्षाका क्षेत्रमा उनको उल्लेखनीय योगदान थियो ।

स्थानीयले बिभिन्न मागसहित शव नउठाउने भन्दै आन्दोलन सुरु गरे । पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, सहिद घोषणा गर्नुपर्ने, स्थानीय प्रहरी युनिटको टोली परिवर्तन गर्नुपर्ने, बारम्बार मुस्लिम अगुवामाथि हुने आक्रमणको छानविन गर्न उच्च स्तरीय समिति गठन गर्नुपर्ने, गृहमन्त्रीसँग छलफल गर्न पाउनुपर्ने आदि मागहरु थिए । अन्ततः ८ बुँदे सहमतिपछि खुर्सिदको शव उठाइयो ।

यसरि एकपछि अर्को हत्याको श्रृंखला दोहोरिरहँदा राज्यले यसलाई निकै सामान्यरुपमा हेरिरहेको देखिन्छ । मृतकमाथि राजनीतिक खोलले छोपिनु सहानुभूति प्रकट गरिनु, मृतकका परिवारले क्षतिपूर्ति पाउनु र छानविन समिति गठन हुनु आदि कुराहरु दीर्घकालीन समस्याको हल होइन । त्यो न्यायसम्मत पनि होइन । हत्या किन भयो ? हत्यारा को हुन् ? र, हत्यारालाई पक्राउ गर्न तथा कानुनको दायरामा ल्याउन के कस्तो पहल भयो ? आदि सवालहरु महत्वपूर्ण हुन् । यस्तो संवेदनशील विषयमाथि राज्यको गहिरो चासो हुनु जरुरी छ । बारम्बार भारतीय सुटरहरुबाट यसरी एउटा समुदायप्रति लक्षित गरी भएको आक्रमणले अवश्य पनि राम्रो कुराको संकेत गर्दैन । यस्ता घटनाले निकट भविष्यमा ठूलो दुर्घटना ननिम्त्यौला भन्न सकिँदैन ।

खुर्सिद हत्याकाण्डसँगै भारतीय नामुद न्युज टीभी तथा अन्य मिडियाहरुमा खुर्सिदका बारेमा अतिरन्जित मुद्दाहरु जोडिएका छन् । जहाँ निकै संवेदनशील प्रश्नहरु उठाइएको छ । जसका सन्दर्भमा राज्यले बेवास्ता गर्नु भनेको जनता प्रति राज्य बफादार नहुनु मात्र होइन आफ्ना नागरिकमाथि लागेको गम्भीर आरोपलाई राज्यले पनि स्वीकार गरेको हो भन्ने प्रष्ट हुन्छ । यदि भारतीय मिडियाबाट लगाइएको आरोपको कुनै खण्डन हुँदैन भने मृतकमाथि देखाएको सहानुभूतिको कुनै अर्थ रहँदैन ।

No comments:

Post a Comment