Thursday, September 27, 2018

विमानस्थल वरपर चंगा उडाउँदै हुनुहुन्छ ? प्रहरीले समाउला !



११ असोज, काठमाडौं । वर्षा ऋतु सकिएर आउने शरद ऋतुले जब दशैंलाई निम्तो दिन्छ, काठमाडौंलगायत देशका सफा आकाशमा चंगा उडाएर मनोरञ्जन लुट्नेहरु हाेडबाजी चल्छ । तपाईं पनि विगत वर्षहरुका यस्तै दृश्यबाट लोभिएर चंगा उडाउने सोचमा त हुनुहुन्न ?

विमानस्थल आसपास बसोबास गर्दै आइरहनु भएको तपाईं यदि यस्तो सोचमा हुनुहुन्छ भने तपाईंलाई खिन्न बनाउने खबर छ । अघिल्ला वर्षहरुमा जस्तो यस वर्ष चंगा उडाउन पाइने छैन । जबरजस्ती गरेर अाफ्नाे इच्छा पूरा गर्न खाेजेमा नियन्त्रणमा लिएर प्रहरीले तपाईंलाई कारबाही गर्नेछ ।नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत मुलुकका अन्य आन्तरिक विमानस्थलहरुको उडान तथा अवतरणको सुरक्षामा ध्यान दिँदै चंगा उडाउन प्रतिबन्ध लगाएको हो । प्रतिबन्धसँगै काठमाडौं उपत्यकालगायत विमानस्थल रहेका स्थान वरपर चंगा उडाउन पाइने छैन ।

चंगाबाट उडान सुरक्षामा गम्भीर असर पर्ने भन्दै यस्तो कार्य नगर्न आग्रह गरेको प्राधिकरणले जबर्जस्ती गरेमा प्रचलित कानूनअनुसार कडाभन्दा कडा कारबाही गर्ने चेतावनीसमेत दिएको छ । अटेरी गर्नेलाई कारबाही हुने प्राधिकरणले जनाए पनि कस्तो प्रकृतिको कारबाही हुन्छ भन्नेबारेमा स्पष्ट खुलाइएको छैन ।

‘कसैले यो सूचनाको अवज्ञा वा अटेरी गरी यस्तो गतिविधि गरे गराइएको पाइएमा प्रचलित कानूनबमोजिम कडा कारबाही हुने व्यहोरा जानकारी गराइन्छ’, प्राधिकरणद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

No comments:

Post a Comment