११ असोज, काठमाडौं । पाल्पाका गणेश पाण्डे फुलपातीको दिन घर जाने निधो गरेर टिकट बुकिङ गर्न गोगंबु बसपार्क पुगे । बसपार्क क्षेत्रमा रहेका काउन्टरहरु एकएक चहार्दा पनि उनले एउटै जवाफ पाए, ‘टिकट त सकिसक्यो ।’
चिन्तित मुद्रामा भेटिएका उनले अनलाइनखबरसँग भने, ‘दशैंको १५–२० दिन अगाडि टिकट सकियो भन्छन्, नयाँ गाडी थपेनन् भने त दशैंमा घर जान समस्या पर्ने भो ।’सरकारले १० प्रतिशत गाडी भाडा बढाउन सहमति गरेसँगै यातायात व्यवसायीले ९ असोजदेखि अग्रिम टिकट बुकिङ खोलेका थिए । तर, तीन दिनमै सबै टिकट बुक भइसकेको भन्दै बसपार्क पुगेकाहरुलाई फर्काउन थालिएको छ ।
बल्खु बस्दै आएका शंकर घिमिरे कपिलबस्तुको टिकट बुक गर्न पश्चिम नेपाल बस व्यवसायी संघको काउन्टरमा पुगेका थिए । तर, त्यहाँ भएका कर्मचारीले अनलाइन सिस्टमबाट मात्रै बुकिङ गर्न मिल्ने जवाफ दिएपछि उनी अचम्ममा परे ।
खातापाता हटाएर विद्युतीय माध्यमबाट टिकट बुकिङ थाल्नु राम्रै भए पनि दशैंका बेलामा मात्र अनलाइनबाट बुकिङ गर्ने कुरा उनलाई नियोजित लाग्यो । अनलाइनबाट भनेपछि धेरै यात्रु फर्किने ठानेर व्यवसायीले चलाखी गरेको उनको आशंका छ ।
रुकुम खलंगाका शुकलाल स्याङ्ग्बोको समस्या पनि उस्तै छ । भर्खरी सुत्केरी भएकी श्रीमती, शिशु र बहिनी लिएर दशैंमा घर जानु छ उनलाई । त टिकट पाएका छैनन् ।
No comments:
Post a Comment