Tuesday, September 25, 2018

सिन्धुपाल्चोकका ४८ हजार भूकम्पपीडितले टहरोबाट मुक्ति पाए



१० असोज, सिन्धुपाल्चोक । भूकम्प अति प्रभावित सिन्धुपाल्चोकमा ४७ हजार ९ सय ५४ घर निर्माण सम्पन्न भएको छ । पुनर्निर्माणको प्रगति हेर्दा बलेफी गाउँपालिका सबैभन्दा अघि र भोटेकोशी गाउँपालिका सबैभन्दा पछि देखिएको छ ।

तर, सरकारले जोखिमस्थलका बस्ती छिटो स्थानान्तरण नगरिदिँदा १७३ परिवारले जोखिम स्थलमा नै घर निर्माण गरेर बस्न सुरु गरिसकेका छन् ।गोर्खा भूकम्पको ठीक एक वर्ष अर्थात २०७३ वैशाखदेखि जिल्लामा निजी आवास पुनर्निर्माण सुरु भएको थियो । ८६ हजार ९ सय ७१ लाभग्राहीमध्ये २९ महिनाको बिचमा जिल्लामा ५५ प्रतिशत पुनर्निर्माण सकिएको छ ।

८३ हजार १ सय ७४ लाभग्राहीसँग अनुदान सम्झौता सम्पन्न भएकोमा ८२ हजार ८ सय ४७ ले पहिलो किस्ताको अनुदान लिएका थिए । यस्तै ७४ हजार २ सय १९ ले तेस्रो र ४७ हजार ९ सय ५४ ले घर निर्माण सम्पन्न गरेर तेस्रो किस्ता लिएको पुनर्निर्माण प्राधिकरण अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार आयोजनाका व्यवस्थापक इन्जिनियर माधवजंग कार्कीले जानकारी दिए ।

‘स्थानीय तहमा जनप्रतिनिधि आएसँगै जिल्लामा पुनर्निर्माणले तीव्रता पाएको छ । अहिलेकै रफ्तारमा पुनर्निर्माण अघि बढ्ने हो भने एक वर्षमा सबै निजी आवास पुनर्निर्माण सकिन्छ,’ व्यवस्थापक कार्कीले भने ।

४८ हजारले तेस्रो किस्ता लिए

तर, कामदार अभाव, निर्माण सामग्रीको अभाव, सडक लगायतका समस्याका कारण पुनर्निर्माणमा समस्या भएको उनले बताए । बैकिङ प्रक्रिया पनि झन्झटिलो भएकाले पीडितहरुलाई समस्या भएको उनको भनाइ छ ।

अहिले झण्डै ४८ हजारले तेस्रो किस्ता लिएका छन् तर घर निर्माण गर्नेको संख्या योभन्दा धेरै छ । केही प्राविधिक कारणले मात्रै सबै कागजपत्र प्राप्त नभएकोले तथ्यांकमा केही कमी देखिएको कार्की बताउँछन् ।

No comments:

Post a Comment