असोज, काठमाडौं । मुलुकको कान्छो जिल्ला नवलपुर, कावासोती–९, की २७ वर्षीय बसन्ती परियार भरतपुर अस्पतालमा मृत्युसँग संघर्ष गरिरहेकी छन् । उनलाई सोमबार साँझ तरकारी किनेर घर फर्कदै गर्दा छुरा र एसिड प्रहार गरेको आरोपमा छिमेककै बसन्त शीर्पाली पक्राउ परेका छन् ।
बसन्तीको स्वास्थ्य अवस्था गम्भीर रहेको उनका श्रीमान् यमबहादुर परियारले अनलाइनखबरलाई जानकारी दिए । उनी भन्छन्, ‘उपचार जारी छ, तर डाक्टरहरूले के हुन्छ अहिले नै भन्न सकिँदैन भन्नुभएको छ ।’दुई हप्ताको बीचमा भएको यो तेस्रो एसिड आक्रमण हो । यसअघि एसिड आक्रमणमा परेकी चन्द्रनिगाहपुर–६, रौतहटकी सम्झना दासको उपचारको क्रममा ज्यान गइसकेको छ ।
सम्झनासँगै एसिड आक्रमणमा परेकी १४ वर्षीय सुस्मिता दासको कीर्तिपुर अस्पतालमा उपचार चलिरहेको छ । २६ भदौ मध्य राति मस्त निद्रामा रहेका बेला एसिड प्रहार गरेको आरोपमा छिमेकी ५० वर्षीय रामबाबु दास पक्राउ परेका छन् ।
तुर्माखाँद–४, अछामकी देवसरा बयकका नाबालक छोरा मुस्कान बयकको २ असोजमा एसिडकै कारण मृत्यु भयो । जम्मा छ महिनाका मुस्कानलाई सुतिरहेका बेला एसिड खुवाएर मारेको अरोपमा उनकी काकी जानकी बयकलाई प्रहरीले पक्राउ गरेको छ ।
विगतमा एसिड आक्रमणका यतिविधि घटना हुँदैनथ्यो । पछिल्लो एक दशकमा एसिड प्रहारका १७ घटना दर्ता भएको नेपाल प्रहरीको अभिलेखले देखाउँछ ।
गएको दुई हप्तामा यस्तो अपराधको शिकार भएका चारमध्ये दुई जनाको ज्यान जानुलाई सामान्य रुपमा लिन नहुने जानकारहरू बताउँछन् । अधिवक्ता मीरा ढुंगाना, ‘रोकथामको उपाय नखोज्ने हो भने एसिड आक्रमण विकराल समस्या बन्न सक्छ ।’
No comments:
Post a Comment