Thursday, September 27, 2018

वैदेशिक रोजगारीमा जाने ७५ प्रतिशत नेपाली कामदार अदक्ष

११ असोज, काठमाडौं । नेपालबाट वैदेशिक रोजगारीमा जानेहरुमध्ये तीन चौथाई भन्दा बढी अदक्ष कामदार रहेको पाइएको छ । युवा तथा खेलकुद मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार कामका लागि विदेश जाने नेपाली युवामध्ये ७५.५ प्रतिशत अदक्ष छन् ।

वैदेशिक रोजगारीमा जाने दक्ष नेपाली युवा जम्मा १.५ प्रतिशतमात्र रहेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । त्यस्तै रोजगारीका लागि बाहृय मुलुक गएका नेपालीहरुमध्ये २३ प्रतिशत अर्धदक्ष छन् ।वैदेशिक रोजगारीमा जाने धेरैजसो कामदार अदक्ष हुँदा उनीहरुले पाउने सेवा सुविधा कम हुनुका साथै जोखिमपूर्ण काम गर्नुपरेको मन्त्रालयले जनाएको छ ।

युवाहरुमा प्रावधिक शिक्षाको पहुँच नहुँदा उनीहरुले काममा दक्ष हुन नसकेको मन्त्रालयको भनाइ छ । ‘प्राविधिक शिक्षा र तालिम स्वरोजगार र उद्यममुखी समेत हुन सकेको छैन’ मन्त्रालयको प्रतिवेदनमा उल्लेख गरिएको छ, अहिले उपलब्ध तालिमका सीमित अवसरहरुमा समेत लक्षित र सीमान्तकृत तथा विपन्न वर्गको पहुँच पुग्न सकेको छैन ।’

नेपालबाट वर्षेनी चार लाख ५० हजार जना विदेश जाने गरेका छन् । तर गत वर्ष गत वर्ष तीन लाख २३ हजार जना विदेश गएका छन् । मन्त्रालयका अनुसार अध्ययनका लागि बाहृय मुलुक जान स्वीकृति लिने युवा ३९ हजार छन् । हाल ४० लाख भन्दा बढी युवा कामका लागि बाहृय मुलुकमा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

No comments:

Post a Comment