Saturday, September 22, 2018

मैदान फर्कने अन्तिम तयारीमा विक्रम, रिह्याबका लागि बैंकक जाँदै



काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लबका कप्तान विक्रम लामा चोटका कारण लामो समय मैदानबाहिर रहेपछि सक्रिय खेल जीवनमा फर्कने प्रयासमा छन् । सम्भवतः अर्को साता सुरु हुने लिगमार्फत उनले घरेलु फुटबलमा पुनरागमन गर्नेछन् ।

Bikram Lama
गत फागुनमा बुढासुब्बा गोल्डकप खेल्दा खुट्टा भाचिएपछि उनी मैदान बाहिरि रहँदै आएका छन् । नेपाल पुलिससँगको फागुन २७ गते फाइनल खेल्दा विपक्षी खेलाडीसँग ठोक्किएर उनको दायाँ नली खुट्टा भाच्चिएको छ । पहिलो हाफमा पुलिसका तेज तामाङसँग ठोक्किएपछि विक्रम घाइते भएका थिए । घटना भएको दिननै मध्यरातमा उनको शल्यक्रिया सम्पन्न भएको थियो ।

शल्यक्रियापश्चात अहिले पनि उनको खुट्टामा स्टिल छ । चोट भने पूर्ण रुपमा निकै भइसकेको विक्रमले जनाए । चोट पूर्ण रुपमा ठिक भइसकेका पनि अब खेल्नका लागि उनी तयार छन् । उनीले अभ्यास पनि सुरु गरिसकेका छन् । तर, अब उनी प्रतिस्पर्धात्मक फुटबलका लागि तयार भए नभएको परिक्षणका लागि थाइल्यान्ड जाने तयारीमा छन् ।

क्लबका उपाध्यक्ष अतिशकृष्ण श्रेष्ठको पहलमा उनी बैंकक अस्पतालमा परिक्षणका लागि जाने तयारीमा छन् । उनले बैंककमा फिफाले प्रमाणित गरेको बैंकक एकेडेमी अफ स्पोर्ट्स एण्ड एक्सरसाइज मेडिसिनमा उपचार गराउने छन् । यो अस्पताल फिफाले आसियान क्षेत्रमा प्रमाणित गरेको पहिलो अस्पताल पनि हो । यहाँ खेलकुद सम्बन्धि चोटको विशेष शल्यक्रियाका साथै रिह्याबको कार्यक्रम पनि संचालन हुने गरेको छ ।

‘मेरो चोट ठिक भैसकेको छ । मैले अभ्यास पनि सुरु गरिसकेको छु,’ उनले भने, ‘तर अब प्रतिस्पर्धात्मक खेलमा फर्कनुअघि एक पटक म खुट्टाको परिक्षणका लागि बैंकक जान लागेको हु ।’ उनले बैंकक पुगेर सुरुआती केहि दिन परिक्षण गर्ने र खुट्टाको स्थिति हेरेर एक देखि दुई हप्ता त्यहीं रहेर रिह्याब गर्ने बताए ।



उनले नेपालमा चर्चित र सम्भावना बोकेका खेलाडी चोटका कारण पछि पुनरागमन असफल भएको त्यसमा आफु पनि सचेत रहेको बताए । ‘चोटका कारण हामीले प्रदीप महर्जन, चेतन घिमिरे, निराजन मल्ल जस्ता खेलाडीलाई लामो समय मैदानमा देख्न सकेनौं,’ उनले भने, ‘मलाई चोट लागेपछि फेरि त्यस्तै हुने हो की भन्ने चिन्ता थियो । त्यसैले म कुनै रिस्क लिन चाहन्न । पूर्ण रुपमा ठिक भएपछि मात्र मैदान फर्कने मेरो योजना हो ।’

विक्रमले अर्को साताबाट सुरु हुने लिगमा थ्री स्टार क्लबबाट खेल्दै छन् । उनी क्लबका कप्तान समेत हुन् । उनकै कप्तानीमा क्लबले मोफसलका विभिन्न उपाधि जित्नुका साथै दुई वर्षअघि एएफसी कपको छनोट चरण पनि पार गरेको थियो । तर एन्फाको लापरवाहीका कारण क्लबले दोस्रो चरण भने खेल्न पाएको थिएन । विक्रमले एसियन कप छनोटदौरान राम्रो प्रदर्शन गरेका थिए । सन् २०१३ र २०१५ को साफ च्याम्पियनसिप खेलेका विक्रमले यस पटक बंगलादेशमा भएको प्रतियोगिता भने गुमाए ।

No comments:

Post a Comment