Thursday, September 27, 2018

राजविराजका मुख्य न्यायाधीश भन्छन् : अदालतमा संकटकाल घोषणा गर्ने स्थिति छ

११ असोज, सप्तरी । उच्च अदालत जनकपुरको राजविराज इजलासका मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठले अदालतमा संकटकाल घोषणा गर्ने स्थिति आएको बताएका छन् ।

अन्य अदालतमा यहाँ मुद्दाको अत्यधिक चाप रहेको र फछ्र्याैट अत्यन्तै कम भएको भन्दै उनले संकटकाल नै लगाउने अवस्था रहेको बताएका हुन् ।केही दिनअघि न्यायाधीशहरु आर्थिक प्रलोभनमा परेर मुद्दाहरु राम्रोसँग नहेरेको भन्दै कानुन व्यवसायीले आन्दोलन गरेपछि उच्च अदालतका सबै न्यायाधीश हटाएर नयाँ ल्याइएको छ ।

नयाँ न्यायाधीशको टोलीसँग गरिएको कार्यक्रममा मुख्य न्यायाधीश श्रेष्ठले न्यायका लागि संकटकाल घोषणा गर्ने स्थिति आइसकेको बताए । ‘मुद्दाको चाङ अत्यधिक छ, कर्मचारी र न्यायाधीश त्यो संख्यामा छैनन्’ श्रेष्ठले भने, ‘यस्तो अवस्थामा संकटकाल नभने के भन्ने ?’

उनले अगाडि भने, ‘अदालतमा १० हजार जति मुद्दा रहेको र न्यायाधीश १० जनामात्रै छन्, कर्मचारीहरुको संख्या पनि थोरै छ । यत्रो मुद्दा कसरी फछ्र्याैट गर्ने ?’मुद्दा धेरै फर्छ्यौट गर्न द्रुत गतिमा मुद्दा हेर्दा पनि फैसलामा त्रुटी हुन सक्ने भएकाले सतर्क रहनुपर्ने आवश्यकता औल्याए ।

मुख्य न्यायाधीश श्रेष्ठले आफूहरु मुद्दाको चाप घटाउन लागिपरेको बताउँदै यसमा कानुन व्यवसायीसहित सबै सरोकारबालाहरुले सहयोग गर्नुपर्ने बताए ।

No comments:

Post a Comment