Sunday, September 23, 2018

प्रदेशका लागि फाँसीमा झुण्डिन तयार छुः मुख्यमन्त्री गुरुङ



असोज, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशका जनताको विकासको चाहना पूरा गर्न आफू फाँसीमा झुण्डिन तयार रहेको बताएका छन् । प्रदेशको समृद्धिका लागि आफूहरु हतारिएको भन्दै उनले आवधिक योजना र गुरुयोजनाको प्रोजेक्ट बैंक तयार पारेर लगानी सम्मेलन गर्ने बताए ।

उनले ‘प्रदेशलाई अधिकार देऊ’, ‘गर्नुपर्ने काम गर’ भन्दा घेराबन्दीका रुपमा नलिन केन्द्र सरकारलाई आग्रह गरे । ‘घेराबन्दी गरेको होइन, संघले गर्नुपर्ने कुरा गर भनेको हो’ आइतबार प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले भने ।सरकारलाई घच्घच्याउनकै निम्ति आफूले मुख्यमन्त्रीहरुको भेला डाकेको स्पष्ट पारे । संघलाई घच्घच्याउने काम अरुले नगरेको अवस्थामा आफूले बिरालोको घाँटीमा घन्टी झुन्डाउने काममात्र गरेको मुख्यमन्त्री गुरुङको भनाइ थियो ।

केन्द्र सरकारकै कारण प्रदेश सरकारले भदौभित्र गर्ने भनेको योजना प्रभावित भएको मुख्यमन्त्री गुरुङले बताए । साउनभित्र कार्यालय खोलिसक्ने र भदौबाट बजेट कार्यान्वयनमा लाग्ने प्रदेशको योजना भएपनि कर्मचारी नआएको भन्दै उनले कार्यालय, कर्मचारी, भौतिक पूर्वाधारकै अभावले बजेट कार्यान्वयन गर्न नसकिएको सुनाए । ‘बजेट कार्यान्वयन गर्ने कार्यालय छैनन्, कर्मचारी छैनन्, भौतिक पूर्वाधार पनि छैनन्,’ मुख्यमन्त्री गुरुङले भने, ‘यस्तो अवस्थामा प्राप्त बजेट पनि कार्यान्वयन शंका उत्पन्न भइरहेको छ ।’

संघीयता आएपछि भएका कार्यालय हटाएर झन् सेवालाई टाढा पुर्‍याइएको मुख्यमन्त्री गुरुङले बताए । ‘पहिलापहिला सबै जिल्लामा खानेपानीको कार्यालय थियो, स्वास्थ्यको कार्यालय थियो’ उनले भने, ‘तर अहिले एउटा कार्यालयले ३ जिल्ला हेर्ने भनेको छ । हामीले हिजो भएका सबै कार्यालय हुनुपर्छ भनेका छौं ।’

संवैधानिक व्यवस्थाअनुसार परिणाम दिन नसक्दा प्रदेश सरकारको कामै रहेनछ भन्ने भान पार्न गएको मुख्यमन्त्रीले बताए । ‘केही परिणाम नआउँदा प्रदेश सरकारको काम रहेनछ भन्ने भान परेको छ । संवैधानिक व्यवस्था अनुसारका काम संघबाट नहुँदा भएको हो’ नेकपाका नेता समेत रहेका गुरुङले भने ।

कार्यालय वीत्त बाँडफाँटदेखि कानुनी बाटो खोल्न केन्द्र सरकार अनुदार देखिएको उनले बताए । मुख्यमन्त्री गुरुङ प्रदेश सरकारले स्विकृतिका लागि नेपाल सरकारसँग अनुरोध गरिपठाएका विषय सम्बोधन नभएकोमा दुखेको व्यक्त गरे ।

No comments:

Post a Comment