
काठमाडौं, ५ असोज । नेपाल बिद्युत प्राधिकरणमा असोज ७ गतेदेखि नयाँ नियम लागु हुने भएको छ । प्राधिकरणमा क्रियाशील ट्रेड युनियनका पदाधिकारीले नियमितरुपमा हाजिर गरी काम काज गर्ने गरी नयाँ नियम लागू गरिएको हो ।
गत भदौ २५ गते बसेको प्राधिकरण बैठकले मिटर रिडर बाहेकका हकमा अनिवार्य हाजिरी गर्नुपर्ने र त्यसलाई व्यावहारिकरुपमा कार्यान्वयन गर्ने निर्णय गरेको थियो । यो व्यवस्थासंगै प्राधिकरणले पदाधिकारीले दिनमा एकपल्ट मात्रै हाजिर गरे हुने व्यवस्था खारेज गरिदिएको छ ।
आन्तरिक प्रशासन प्रणाली सुधार गरी नागरिकलाई बढीभन्दा बढी सेवा दिने लक्ष्यका साथ प्राधिकरणले सो व्यवस्था लागू गरेको जनाइएको छ ।
विद्युतभार कटौतीको अन्त्यपछि आन्तरिक सुधारको रुपमा यस्तो कदम चालिएको हो । प्राधिकरणको यो निर्णयबाट सबैभन्दा बढी ट्रेड युनियनका नेता प्रभावित हुने भएका छन् । प्राधिकरणमा नेपाली कांग्र्रेसको कर्मचारी संघ आधिकारिक ट्रेड युनियन छ ।
प्राधिकरण कर्मचारी सेवा विनियमावलीमा प्राधिकरणले व्यवस्था गरेबमोजिम मिटर ‘रिडिङ’मा संलग्न कर्मचारीबाहेकले कार्यालय खुलेको दिन कार्यालय समयअनुसार अनिवार्य रुपमा आएको र गएको समय जनिने गरी विद्युतीय हाजिर गर्नु पर्ने व्यवस्था लागू गरिएको हो ।
No comments:
Post a Comment