Wednesday, October 3, 2018

पर्यटकको केन्द्रबिन्दु महेन्द्र गुफा



पोखरा, १७ असोज । ‘जाऊ है पोखरा !’ यो कर्णप्रिय शब्द पर्यटकले पटक– पटक त्यसै उच्चारण गर्ने गरेको अवश्य नै होइन। आफैंमा आकर्षक र विशिष्ट गन्तव्य भएकाले अधिकांश पर्यटकको रोजाइँ ‘पोखरा’ नै हो भन्दा अतिशयोक्ति नहोला।

पोखरा आउन हवाईका साथै सडक यातायातको सुविधा छ । स्तरीय होटल, बसाइँ लम्ब्याउन सकिने स्वच्छ वातावरण र मनमोहक प्राकृतिक छटाले यो भरिपूर्ण छ। ताल, हिमाल, गुफा, संस्कृति र प्राकृतिक सम्पदाले भरिएकाले पर्यटकको रोजाइँमा पोखरा पर्दै आएको छ ।

अन्नपूर्ण र माछापुच्छे हिमालको काँखमा अवस्थित पर्यटकीयस्थल पोखरा आफैँंमा एक प्राकृतिक सम्पदाबाट शृृङ्गारिएकाले पर्यटकको मन लोभ्याउछ। बिहानीको समयमा चाँदी झैं टलक्क टल्किने अन्नपूर्ण र माछापुच्छे हिमालको रमणीय दृश्यावलोकन, ताल, गुफा, गुप्तेश्वर मन्दिर, गुम्बा, नदी, झरना, राष्ट्रिय सङ्ग्रहालय, गोर्खाली सेनाको सङग्रहालय आदि यहाँका पर्यटकीय आकर्षण हुन् । प्याराग्लाइडिङ, अल्ट्रालाइट, बञ्जी जम्पलगायत साहसिक खेल हेर्न र सहभागी हुनका लागि आन्तरिक र बाह्य पर्यटकले पोखरालाई पहिलो प्राथमिकताको गन्तव्य सूचीमा राख्ने गरेका हुन्।

यहाँका कैयौं पर्यटकस्थलमध्येको महेन्द्र गुफा पर्यटकीय आकर्षणको केन्द्रविन्दु बनेको छ । गुफामा वर्षेनी पाँच लाखको हाराहारीमा पर्यटक भित्रिनुले यसको आकर्षणलाई प्रमाणित गर्दछ। पोखरा – १६ को बटुलेचौरस्थित घुर्मी डाँडाको काखमा अवस्थित महेन्द्र गुफा ४६ रोपनी जग्गामा फैलिएको छ।

गुफाको लम्बाइ १२५ मिटर छ । जमीनको सतहबाट करीब २० वटा भ-याङ उक्लेपछि गुफाभित्र प्रवेश गरिन्छ । माथिल्लो भागबाट पानी रसाए पनि खुट्टा चिप्लिने सम्भावना कम छ । भित्रीभाग अध्यारो भएकाले बत्तीको व्यवस्था गरिएको छ । गुफाभित्र कुनै कठिनाइ नभएकोले अधिकांश पर्यटक यहाँ पुग्ने गरेका छन्।

दुई भागमा बाँडिएको भित्रि भागमा भगवानको मूर्ति छन् । आराध्यदेव महादेव, गणेशको मूर्तिसाथै शिवलिङ्ग छन् । भित्तामा गाईको थुनजस्ता दृश्य बढी देखिन्छ। सो कारणले धार्मिक आस्थाका पर्यटकलाई यसले दोहोरो फाइदा पु-याएको छ । विगतमा गुफा प्रवेशपछि निस्कने बाटो अहिले बन्द गरिएको छ । कुनैबेला गाईवस्तु चरनस्थलको रुपमा रहेको यस क्षेत्रको एक भ्वाङ्मा बाच्छो फसेपछि सोको उद्धार गर्ने क्रममा २००८ सालमा स्थानीयवासीले यस बारे थाहा पाएका हुन्।

शुरुमा अँधेरी गुफाको रुपमा चिनिने यो २०१० सालमा संस्कृतविद् सत्यमोहन जोशीले अवलोकन गरेर नेपाल नामक पत्रिकामा ‘यात्रा संस्मरण’ लेख्नुभयो। गुफाका प्रबन्धक शिशिर पौंडेल भन्नुहुन्छ, “उक्त संस्मरण राजा महेन्द्रले पढेपछि विसं २०१६ मा गुफाको भ्रमण गर्नुभयो।

त्यसपछि गुफाको नाम नै महेन्द्र गुफा रहन गएको हो ।”सोही समयमा राजाले स्थानीय बिन्ध्यवासिनी विद्यालयलाई सो गुफाको संरक्षण गर्न आदेश जारी गर्नुभयो। सोही समयदेखि संरक्षण र सम्बद्र्धन उक्त विद्यालले गर्दै आएको छ । विसं २०३१ पछि प्रवेश शुल्क लिने नियम बनाइयो। हाल नेपालीसँग रु ५०, सार्क राष्ट्रका पर्यटकबाट रु ८०, सार्कबाहिरका पर्यटकसँग रु १५० र विद्यार्थीसँग रु ३० लिइन्छ।

गुफामा आन्तरिकपछि सबैभन्दा बढी भारत, अमेरिका, जापान, चीन र युरोपका पर्यटक पुग्ने गरेका छन् । आर्थिक वर्ष २०७४÷७५ मा चार लाख १२ हजार पर्यटकले महेन्द्र गुफाको अवलोकन गरे । आन्तरिक पर्यटक दुई लाख ३० हजार, सार्क मुलुकका ६८ हजार, सार्कबाहिरका ५४ हजार र विद्यार्थी एक लाख आठ हजारले यहाँको अवलोकन गरे । प्रबन्धक पौडेलका अनुसार गुफाको अवलोकनबाट गत आर्थिक वर्ष रु एक करोड ६० लाख रकम उठेको छ।

No comments:

Post a Comment