Wednesday, October 3, 2018

नवलपरासीको सुन्दर बुद्धमंगल ताल, तर प्रचारप्रसारको अभाव

परासी, १७ असोज । पश्चिम नवलपरासीको ऐतिहासिक बुद्धमंगल ताल संरक्षणको पर्खाइमा छ । जिल्लाको बर्दघाट नगरपालिका वडा नं १२ मा पर्ने यो ताल पर्यटकीय दृष्टिकोणले उत्कृष्ट गन्तव्य बन्ने सम्भावना भएर पनि संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।
सुन्दर र रमणीय वातावरण रहेको यो तालको उचित संरक्षण हुन नसक्दा झारैझारले भरिन पुगेको छ । तालमा पर्याप्त पानी भएपनि झार धेरै भएकाले तालको सुन्दरता छोपिएको छ । यो तालको ऐतिहासिकता गौतम बुद्धसँग जोडिएको छ । स्थानीयवासी दीपक बरालका अनुसार बुद्धमंगल ताल ऐतिहासिक हुनुमा शाक्यमुनि बुद्धसँग यसको सम्बन्ध जोडिनु नै हो । यस तालको नामकरण बुद्धमंगल हुनुले पनि बुद्धसँग कुनै न कुनै किसिमले यसको अन्तरसम्बन्ध छ भन्ने बुझ्न सकिन्छ । साढे ६ विघामा फैलिएको र गोलाकार आकृतिमा रहेको यो ताल आजसम्म सुकेको दृष्टान्त छैन । निर्मल र कञ्चन पानी रहेको यस तालको सम्बन्ध बुद्धसँंग जोडिएका विषय र अन्य पनि धेरै किवन्दतिहरु सुनाउने पुस्ता आज पनि जिउँदै भेटिन्छन् ।
बुद्धमंगल ताल संरक्षण समितिका अध्यक्ष दीप प्रकाश लोहनीका अनुसार गौतम बुद्ध काठमाडौँ खाल्डो जाने क्रममा परासीदेखि १२ किलोमिटर पूर्व हाल बर्दघाट नगरपालिका – १२ ९साविक जहदा ५० स्थित मनोरम यो ताल देखेपछि आफ्नो अनुयायीसहित यसै ताल छेउ राति बास बस्नुभएको र सो बसाइको क्रममा स्थानीयवासी दुई जमिन्दार भाइहरु दबिला र मंगललाई आफ्नो प्रवचनबाट दीक्षित बनाएको किंवदन्ति सुन्न पाइन्छ । ती दुई दाजुभाइमध्ये दबिलाको नामबाट आज पनि दुई गाउँ ९पुरानो दबिला, नयाँ दबिला० रहेका छन् भने मंगलको नाउँ अगाडि बुद्धसमेत जोडी बुद्धमंगल ताल नामकरण गरिएको छ ।
प्रमाणित रुपमा भन्न नसकिए पनि यो ताल धेरै ऋषिमुनि सन्न्यासीहरुको तपस्या थलो बनेको थियो भन्ने तर्कलाई पत्याउने आधार धेरै रहेको अध्यक्ष लोहनीले बताउनुभयो । तत्कालीन समयमा घना जङ्गलबीच शान्त ताल रहनु र यस क्षेत्रमै नारायणी नदी पछि जल सुन्दरताका हिसाबले यही ताल नै उत्कृष्ट रहनुले पनि पत्याउन सजिलो आधार मिलेको हो । बुद्ध जीवनी, बौद्ध धार्मिक ग्रन्थहरुको मिहिन अध्ययन र अनुसन्धान हुने हो भने यस सम्बन्धमा निश्चय पनि केही तथ्यहरु हात पर्ने विश्वास स्थानीयवासीको छ ।
यस बाहेक रैथाने थारु जातिले जमकतार देवीको आश्रय स्थलको रुपमा यस ताललाई लिई अति पवित्र मानी यसै तालको पानीबाट खाना पकाउने प्रचलन केही वर्ष अगाडिसम्म रहेको बताउने बूढापाका आज पनि छन् । जमकतार देवीको सानो मन्दिर ताल किनारमा अवस्थित छ । ताल वरपर पुरानो थारु बस्ती नै छ ।
स्थानीयवासी दीपक बराल अर्को किंवदन्ति सुनाउनुहुन्छ – यस तालबाट सुनका भाँडाकुँडा स्थानीयवासीले मागे जति पाउने तर, कार्य सम्पन्न भए पछि तालमा बिसर्जन गर्नुपर्ने प्रथा थियो । घरमा पूजाआजा, बिहे बँरात आउँदा भाँडाको माग गरेपछि सतहमा तैरिएर आउँछ । तर, एक लोभी व्यक्तिले एउटा कचौरा लुकाए पछि देवी क्रोधित भई लगातार वृष्टि गराई ताल जलमग्न गराउँदा भाँडाहरु बग्दै बग्दै नजिकबाट बग्ने खोलाको माध्यमबाट दक्षिणतर्फ गएको भन्ने सुनिन्छ । सुनका भाँडाबर्तन बगेकाले सुनलाई धन मानी धन खोला नामकरण भएको हो ।
थारु जातिले दक्षिणतिरको गाउँमा सुन गएको हुँदा ‘धन बा’ भन्दै गर्दा गाउँको नाम नै धनवा रहन गएको र कालान्तरमा अपभ्रंस भई धनेवा हुन पुगेको किवदन्ति पनि छ । धनेवा आज नवलपरासी कै प्रमुख बस्तीमध्येको एक हो । धनेवा खोला अझ दक्षिण पुग्दा त्यो धन गाडिएको जनविश्वास छ । सो स्थान हाल सरावल गाउँपालिकाको धनगडवा गाउँ हो भन्ने गरिन्छ ।
यस बाहेक नाक र कानमा गहना लगाएको विशाल मत्स्य देवता तालमा अहिले पनि रहेको कथाहरु पनि प्रख्यात छन् । गहना लगाएको माछा विश्वास गर्न नसकिने भए पनि विशाल माछा तालमा रहेको र त्यो बेलाबखत सतहमा आउने गरेको प्रत्यक्ष देखेका दावी कतिपय स्थानीयवासीले गर्ने गरेका छन् । त्यसैगरी, अजिङ्गर पनि बेलाबखतमा देखिने गरेका छन् । सिमसार क्षेत्र भएकाले विविध जलचर र ताल किनारमा सामुदायिक वनको समेत विकास गरिएकाले चराचुरुङ्गीको बासस्थानका रुपमा यो ताल रहन पुगेको छ ।

No comments:

Post a Comment