Sunday, September 23, 2018

निभ्यो दृष्टि, तर रोकिइनन् सृष्टि

सबै कुरा ठीकठाक हुँदो हो त, सृष्टि केसी यतिबेला कालो कोट पहिरिएर अदालतमा बहस गरिरहेकी हुन्थिन् होला । किनभने उनको सपना थियो वकिल बन्ने । सपनाको त चाङ नै थियो, कलाकार बन्ने, गायक बन्ने, नर्तकी बन्ने, कवि बन्ने ।
तर, बुलेट ट्रेन जस्तै तीव्र रफ्तारमा दौडिरहेको उनको सपनामा त्यही बेला ठेस लाग्यो, जब आँखाको दृष्टि गुम्यो । सपना देख्ने आँखा नै गुम भयो । र, त्यही मोडमा आइपुगेपछि उनले सपना होइन, यथार्थमा बाच्नुपर्ने बोध गरिन् ।जीवनका जिजीविषालाई एकातिर पन्छाएर उनी संघर्ष गर्न थालिन् । त्यो संघर्ष, जो उनी आफैंका निम्ति थियो ।
८ कक्षा पढ्दै गर्दा उनको आाखामा सामान्य समस्या देखियो । डाक्टरले त्यसलाई एलर्जी भनेर औषधी दिए । उनी आँखामा औषधी हाल्दै गइन्, तर, दृष्टि झन् मधुरो बन्दै गयो । बिस्तारै किताबका अक्षरहरु घिउकमिलाजस्ता देखिन थाले । तर, किताबलाई नाकमै ठोक्काएर भए पनि पढ्न छाडिनिन् । सहयोगी राखेर एसएलसी दिइन् । ७३ प्रतिशत अंक ल्याएर पास गरिन् । एसएलसी पास गर्दासम्म उनको दृष्टि पूरै बन्द भइसकेको थियो ।
अनेक डाक्टर फेर्दा पनि कुनै समाधान निस्किरहेको थिएन । आँखाको दृष्टि गुमिसकेपछि बाँकी पढाइ पूरा गर्नुपर्ने दायित्वले मात्र होइन, सुदूर भविष्यका खातिर पनि लड्नुपर्ने वाध्यता आइलाग्यो । यही वाध्यताले हिँड्न सिकायो, बाँच्न सिकायो, लड्न सिकायो ।
सृष्टि भन्ने गर्छिन्, ‘त्यसबेलासम्म तपाईंलाई आफू कति स्पिडमा दौडन सक्छु भन्ने थाहा हुँदैन, जबसम्म पछाडिबाट भोको बाघले लखेट्दैन । अरुबेला जति दौडिए पनि त्यो हाम्रो वास्तविक स्पिड होइन । बाघले लखेटेको बेला जुन रफ्तारमा दौडनुहुन्छ, त्यो तपाईंको रफ्तारको क्षमता हो ।’
यदि सबै ठीकठाक हुँदोहो त सृष्टिले आफ्नो क्षमता पहिचान गर्थिन् वा गर्दिनथिन् थाहा छैन । तर, जब सबै कुरा गडबड भयो, चुनौतीको ठूलो पहाड चढ्नुपर्ने वाध्यता आइलाग्यो । यही बाध्यताले हो, उनी आजको विन्दुसम्म आइपुगेकी ।
यो विन्दुसम्म आइपुग्न उनले जुन धरातल छिचोलेकी छन्, त्यो सामान्य हिम्मत, लगाव, संघर्ष र निरन्तरताले पुग्दैन ।
दृष्टि गुमेपछिका अवस्थामा उनले कठिनपूर्वक पढिन् । परीक्षामा राम्रो नतिजा हासिल गरिन् । तर, उनका लागि कलेजका ढोका बन्द थिए । एकातिर आफ्नै समस्यासँग जुध्नुपर्ने, अर्कोतिर सुन्दर भविष्यको रचना गर्नुपर्ने ।
त्यसबेलाको क्षण सम्झदै सृष्टि भन्छिन्, ‘के चाहिँ उपचार गर्न बाँकी राखेँ होला र । आयुर्वेदिक, होमियोप्याथिक, अकुप्रेसर, वैद्य सबैकहाँ पुगेँ,’ सृष्टि भन्छिन्, ‘दृष्टि फर्किने आशा मरेको थिएन, रोग हो निको भइहाल्छ नि भन्ने थियो ।’
तर, विस्तारै मानिसहरुले गर्ने व्यवहार फरक देखिन थालेको थियो । उनको अनुहारमा थोरै आक्रोश झल्कन्छ, ‘सबैले मलाई सहयोग त गर्थे तर, साथी बन्न कोही चाहँदैनथे ।’
सृष्टिले चश्मा अली माथि सारिन् । चश्माको छेकोबाट आँखालाई गर्लम्मै ढाकेको फुलो देखियो । उनले कलेजको एउटा घटना सम्झिइन्, ‘म विहान चार बजे उठेर कलेज जान्थेँ । ४५ मिनेट लाग्थ्यो कलेज पुग्न । एक दिन त्यसरी नै कलेज पुग्दा क्लास रित्तो थियो । साथीहरु सबै पिकनिक गएका रहेछन् । जबकि पिकनिक जाने कुरा मलाई कसैले थाहा दिएका थिएनन् । शायद, मलाई लग्यो भने झिँजो हुन्छ भन्ने लागेर होला ।’
‘आँखा नदेखे पनि म आफूलाई सामान्य सोच्थेँ । त्यति धेरै समय भएको थिएन मैले लिपिस्टिकका कलरहरु चुज गरेको, नयाँ-नयाँ ड्रेसहरु ट्राई गर्दै बजार घुमेको, फिल्म हेर्न गएको । तर, साथीहरुको व्यवहारले म झस्किएँ ।’
अर्को दिन उनले साथीहरुसामू खुलेर मनको वेदना पोखिन् । त्यसपछि उनीहरुले गर्ने व्यवहार अलि बदलियो । सृष्टिलाई पनि थोरै कम्फर्ट महसुस भयो ।
०००
समुद्रको किनारमा यत्रतत्र दगुरेँ । धीत मरुन्जेल रोएँ र, दृष्टिविहीनको दुनियाँमा आफूलाई मानसिकरुपमा समाहित गरेँ । त्यसपछि कहिल्यै आँसु झारेको छैन
उनले कलेज टप गरिन् । एक दृष्टिविहीनले कलेज टप गर्नु आश्चर्यजनक थियो । तर, कसरी पढेकी थिइन्, त्यो उनलाई नै थाहा छ । क्याम्पस आउन-जान समस्या थियो । अरुले झैं किताब पढ्न सक्ने कुरै भएन, लेख्न पनि गाह्रो थियो ।
आमाले घरबाट बस स्टपसम्म ल्याएर गाडी चढाइदिन्थिन् । गाडीबाट ओर्लिएर उनी आफैं क्याम्पससम्म पुग्थिन् । क्याम्पस सकिएपछि साथीहरुले ल्याएर गाडी चढाइदिन्थे । आमा बस स्टपमा पर्खिरहेकी हुन्थिन् । तर, कहिलेकाहिँ गाडीले अन्यत्रै ओरालिदिँदा आपत् पर्थ्यो उनलाई । किनकी त्यतिबेला मोबाइल थिएन । न ह्वाइट केन (दृष्टिविहीनले बोक्ने सेतो छडी) नै थियो ।
‘कहाँकहाँ बरालिन्थेँ । छामछुम गर्दै नजिकका मानिसहरुलाई लोकेसन सोध्थेँ । कहिलेकाहीँ सहयोगी भावना भएकाहरुले घरसम्मै पुर्‍याइदिन्थे,’ सृष्टिले विगत सम्झिइन् ।
घर पुग्दा रात परिसकेको हुन्थ्यो । आमा छट्पटाइरहेकी हुन्थिन् । उनलाई भने के रात, के दिन ।
यस्ता कठिनाइबाट मुक्ति पाउन उनले ह्वाइट केन लिइन् । उनलाई लाग्थ्यो ह्वाइट केन लिएपछि सबै ठीक होला । तर, त्यस्तो भएन । आफ्नो दैनिकीलाई सहज बनाउन ट्रेनिङ सेन्टरमै पुग्नुपुर्‍यो उनलाई । ट्रेनिङ लिएपछि भने केही राहत भयो ।
सृष्टि रेकर्डर बोकेर क्याम्पसमा जान्थिन् । सरहरुले पढाएको कुरा रेकर्ड गर्थिन् र घरमा ल्याएर सुन्थिन् । लेख्नलाई पनि उनले उपाय निकालिन् । ग्रिप वाला काठको प्लाई कापि पछाडि राखेर लेख्न थालिन् । ग्रिपमा भएको घेराले अक्षरलाई तलमाथि हुन दिँदैनथ्यो र कहाँसम्म लेखियो भन्ने थाहा हुन्थ्यो ।
परीक्षा दिँदा सहयोगी लैजान्थिन् । उनी उत्तर भन्थिन्, सहयोगीले लेख्थे । यसरी पढेर नै उनले कलेज टप गरिन् ।
अहिले उनको दैनिकी पहिलेभन्दा सहज छ । कम्प्युटर र मोबाइलमा उनी सामाजिक सञ्जाल चलाउन सक्छिन् । अक्षरलाई आवाजमा बदल्ने सफ्टवेयरले सहयोग गरेको छ ।

No comments:

Post a Comment