सिरहाको लहानबाट मंगलबार साँझ अपहरण भएको भनिएका सप्तरी मल्हनिया–२ का डाक्टर सुभाष यादवलाई राति ११ बजे प्रहरीले फेला पारेको छ । सर्लाहीको नवलपुरमा भेटिएका डाक्टरले आफ्नी प्रेमिकासँग बस्नका लागि अपहरण शैलीमा भाग्न खोजेको रहस्य खुलेको छ ।अर्की युवतीसँग प्रेम विवाह गरेको थाहा पाएर उनकी श्रीमती र ससुरालीले त्यो सम्बन्ध छुट्याउनका लागि डाक्टर यादवलाई एक महिनादेखि लहानमै राखिरहेका थिए। मंगलबार साँझ बजार घुम्न निस्किएका डाक्टर जिपमा चढेर एकाएक गायब भएका र सम्पर्क हुन छोडेपछि उनका आफन्तले अपहरणमा परेको हुन सक्ने भन्दै प्रहरीमा खबर गरेका थिए । जानकारी पाएलगतै प्रहरीले खोजबिन थालेर डाक्टर सवार जिप पश्चिमतर्फ गएको थाहा पाएर सबै प्रहरी चौकीमा उनको फोटो पठाएको थियो ।बीच बाटोमै जिप छाडेर मोटरसाइकलमा चढी हेटौडा जाँदै गरेका यादवलाई सर्लाहीको नवलपुरमा चेकजाँचका क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो । डाक्टर यादवलाई इलाका प्रहरी कार्यालय लहानमा राखिएको छ । उनी जिल्ला अस्पताल हेटौंडा र त्यहींको अर्को सहकारी अस्पतालमा कार्यरत रहेको प्रहरीले जनाएको छ। यादवसँगै उनलार्इ भाग्न सहयोग गर्ने एक सहयोगीलार्इ पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनले हेटौडा–९ की सपना यादवसँग प्रेम विवाह गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी माधवराज खरेलले बताए । खरेलका अनुसार यादवलाई श्रीमतीले कान्छी श्रीमतीसँगको सम्बन्ध छुटाउनका लागि लहान ल्याएर राख्दा उनी अपहरण शैलीमा भाग्न खोजेका हुन् । उनीमाथि थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
No comments:
Post a Comment